
२०८३ साल असोज १२ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायका नव नियुक्त डीन सह–प्रा.डा. ऋषिकेश पाण्डेको स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ को उपदफा (२) बमोजिम पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८३ असोज ९ गते बसेको बैठकको निर्णय अनुसार डा. पाण्डेलाई डीन पदमा नियुक्त गरिएको हो । स्कूल अफ डेभलप्मेन्ट एण्ड सोसल इन्जिनियरिङ्गमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व रजिष्टार सह–प्रा.डा. अजय थापा, स्कूलका पूर्व निर्देशक सह–प्रा.डा. रामप्रसाद अर्याल, डा. अर्जुन कुमार थापा, स्कूल निर्देशक, सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुबाट नवनियुक्त डीनलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो ।
स्वागत कार्यक्रममा सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका पूर्व रजिष्टार सह–प्रा.डा. अजय थापाले मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमहरुको छुट्टै महत्व रहेको र फरक र नयाँ विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि उनिहरुको रुचि अनुसारको शैक्षिक कार्यक्रम सञ्चालन गर्नु विश्वविद्यालयको दायित्व पनि रहेको बताउनुभयो । साथै विगतमा डीनको जिम्मेवारीमा रहँदा बजारको माग अनुसार विभिन्न नयाँ शैक्षिक कार्यक्रमहरु सञ्चालनको नीति तथा कार्यक्रम तय गरिएकोले आवश्यकता अनुसार कार्यान्वयन गर्दै संकायलाई मात्र नभइ समग्र विश्वविद्यालयलाई सफलता तर्फ लैजान नवनियुक्त डीनलाई शुभकामना प्रदान गर्नुभयो ।
सह–प्रा.डा. रामप्रसाद अर्यालले हाल सञ्चालनमा रहेका शैक्षिक कार्यक्रमहरुको सुधार गर्दै गुणस्तरमा जोड दिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा डा. अर्जुन कुमार थापाले संकायमा मात्र नभइ समग्र विश्वविद्यालयमा नै विभिन्न समस्याहरु रहेको र उक्त समस्याहरुलाई समाधान गर्नतर्फ नव नियुक्त डीनबाट उल्लेख्य योगदान पुग्नेछ भन्ने विश्वास ब्यक्त गर्नुभयो ।
सोही अवसरमा बोल्दै नव नियुक्त डीन सह–प्रा.डा.ऋषिकेश पाण्डेले विश्वविद्यालयबाट आफूलाई नयाँ जिम्मेवारी प्रदान गरिएकोले प्राप्त जिम्मेवारी न्यायपूर्वक बहन गर्ने र संकायको साथसाथै समग्र विश्वविद्यालयको हितको लागि नीतिगत तहमा आफ्नो पूर्ण योगदान रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । साथै उहाँले आफूले तय गरेको योजना र कार्यक्रम सामुहिक रहेको र यसमा संकायका र स्कूलका पूर्व पदाधीकारीहरु तथा सम्पूर्ण शिक्षक कर्मचारीहरुको पूर्ण सहयोगको अपेक्षा रहेको कुरा ब्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा कानुन विषय अन्तर्गत पूर्णकालिन करार सेवामा नयाँ नियुक्ती लिनुभएका विमल प्रसाद लामिछानेको समेत स्वागत गरिएको थियो भने स्कूल निर्देशक डा. अनन्तराज ढुङ्गानाले नव नियुक्त डीनलाई बधाइ दिँदै स्कूलको लागि डीन कार्यालयबाट धेरै कुराको अपेक्षा गरिएको साथै समग्र स्कूलका शिक्षक तथा कर्मचारीहरुको पूर्ण सहयोग रहने भन्दै सफलताको कामना गर्नुभयो । उपप्रशासक शिवराज पण्डितले सञ्चालन गर्नुभएको स्वागत तथा बधाइ कार्यक्रममा स्कूलमा कार्यरत शिक्षक कर्मचारीहरु र डीन कार्यालयमा कार्यरत कर्मचारीको उपस्थिती रहेको थियो ।
