शिक्षक तथा कर्मचारीहरुको लागि क्षमता विकास तालिम सम्पन्न

03/05/2026

२०८३ वैशाख २० गते आइतवार, पोखरा–३०, कास्की ।

शैक्षिक गुणस्तर अभिवृद्धि र संस्थागत विकासलाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय र स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ्गको संयुक्त आयोजनामा संकाय र स्कूलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको लागि क्षमता विकास र शैक्षिक अभिवृद्धि सम्बन्धी दुइदिने विशेष कार्यक्रम सम्पन्न भएको छ । यही वैशाख १८ देखि १९ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रम “Re-energizing Academic Excellence: Motivation, Well-Being, Professional Growth & Semester Planning” शिर्षकमा केन्द्रित रहेको थियो । तालिमको क्रममा सकारात्मक सोच, अत्मविश्वास र उत्प्रेरणा, तनाव ब्यवस्थापन, टिम बिल्डिङ्ग लगायतका विषयहरुमा केन्द्रित रही डा. दिलिपराज पौडेलले सहजीकरण गर्नुभएको थियो भने शिक्षक तथा कर्मचारीहरुको रणनीतिक क्षमता अभिवृद्धि विषयमा प्रा.डा. विष्णुराज तिवारीले सहजीकरण गर्नुभएको थियो ।

साथै शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत सुधारका लागि मानविकी तथा सामाजिकशास्त्र संकाय र स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ्गका विद्यमान समस्या र चुनौतीहरुका विषयमा समूहगत छलफल गरी समस्या समाधानका उपयुक्त विकल्पहरुको वारेमा समेत अन्तरक्रिया गरिएको थियो । त्यस्तै आगामी वर्षको शैक्षिक योजना, वार्षिक बजेट, कार्ययोजना, शैक्षिक क्यालेन्डर, आन्तरिक परीक्षा र मुल्यांकन, खरीद योजना तथा स्रोत साधनको अधिकतम उपयोग लगायतका विषयहरुमा समेत छलफल र अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमको समापन मन्तब्य दिँदै पोखरा विश्वविद्यालयका रजिष्ट्रार सहप्रा.डा. अजय थापाज्यूले यस कार्यशाला र क्षमता अभिवृद्धि कार्यक्रमले आगामी सेमेष्टरलाई थप प्रभावकारी बनाउँदै शैक्षिक उत्कृष्टता हासिल गर्न कोसेढुङ्ग सावित हुने विश्वास ब्यक्त गर्नुभएको थियो । उपप्राध्यापक भरतराज ढकालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा मानविकी तथा सामाजिकशास्त्र संकायका डीन डा.सुरेन्द्र तिवारी, स्कूल निर्देशक सहप्रा.डा. अनन्तराज ढुङ्गाना, कार्यरत शिक्षक तथा कर्मचारीहरुको उत्साहजनक उपस्थिती रहेको थियो । साथै यस्ता कार्यक्रमहरुले कार्यस्थलमा नविन उर्जा र सकारात्मक सोचको विकास भई शिक्षक, कर्मचारी र विद्यार्थीहरुको आपसी समन्वय बाट नै शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै संस्थागत लक्ष्य हासिल गर्न र शैक्षिक तथा संस्थागत गरिमालाई थप उचाइमा पुर्याउन सकिने दृढ विश्वास गरिएको छ ।